प्रवेश विन्दुमा भिषा

अध्यागमन विभाग अन्तर्गतका ९ वटा प्रवेश तथा प्रस्थान बिन्दु(अध्यागमन कार्यालयहरु) बाट आगमन पश्चात् On Arrival भिषा प्राप्त गर्न सकिने ब्यवस्था गरिएको छ। हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रि. अ. वि. मार्फत् आवश्यक ब्यवस्था मिलाएको छ भने मैदानबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउँदै आएका छन्। प्रवेश बिन्दुबाट जारी गरिने सबै भिषा पर्यटक भिषा हुन्।

यस भिषा प्राप्त गर्ने प्रकृया अत्यन्तै सरल छ। भिषाको लागि अनलाइन फारम (पर्यटक भिषा) भर्नुहोस्। फारम भर्न अध्यागमन विभागको वेभसाइटमा जान सक्नुहुन्छ।उक्त फारमले १५ दिनसम्म मात्र काम गर्दछ।फारम धेरै चाँडै नभर्नुहोला। अथवा अध्यागमन कार्यालय त्रि अ वि मा पनि फारम भर्न kiosk मेसिन राखिएका छन्। उक्त मेशिनको सहायताले फारम भर्न सकिन्छ। भिषाको लागि तोकिएको  दस्तुर बैँकमा बुझाउनुहोस् र अनलाइन फारम, बैंकमा पैसा तिरेको भौँचर सहित अध्यागमन अधिकृत रहेको भिषा डेस्कमा जानुहोस्। अध्यागमन अधिकृतले तपाईका कागजात छानबिन गरि तपाईलाई नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिषा जारी गर्नेछन्।